आँखामा कालोपट्टि बाँधेर माइतीघरमा प्रदर्शन: जेनजी आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब

lawanyasandesh.com

साँखु,काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन्।
जेनजी मुभमेन्ट अलायन्ससहित विभिन्न युवा समूहमा आबद्ध युवाहरू सोमबार माइतीघरमा भेला भई शान्तिपूर्ण धर्नामा बसेका हुन्। उनीहरूले आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गर्दै विरोधस्वरूप आँखामा कालो पट्टि बाँधेर प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी युवाहरूले विगतमा गठन गरिएका विभिन्न आयोगहरूको प्रतिवेदन सार्वजनिक नभई अलपत्र परेको उदाहरण दोहोरिन नहुने बताएका छन्। उनीहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन पनि मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोगजस्तै थन्क्याइने अवस्था आउन नदिन सरकारसँग स्पष्ट प्रतिबद्धता माग गरेका छन्।
धर्नामा सहभागीहरूले सत्य तथ्य बाहिर ल्याउन आयोगको प्रतिवेदन पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। साथै, प्रतिवेदनका आधारमा दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन आफूहरू आन्दोलनमा उत्रिएको बताएका छन्।
युवाहरूले लोकतान्त्रिक शासन व्यवस्थामा जनताको सरोकारसँग जोडिएका विषयमा पारदर्शिता र जवाफदेहिता अपरिहार्य भएको भन्दै सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ नगर्न आग्रह गरेका छन्।

प्रतिक्रिया