साँखु,काठमाडौँ । शुक्रबारदेखि सक्रिय रहेको वर्षा गराउने मौसमी प्रणाली कमजोर बन्दै गएपछि देशभर मौसम क्रमशः सुधार हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार बिहानजस्तो लगातार वर्षा अब नहुने सम्भावना रहेको छ।
मौसमविद् विभूति पोखरेलका अनुसार हाल सक्रिय प्रणाली बाहिरिने क्रममा रहेकाले ठूलो र लामो वर्षा तत्काल नहुने देखिएको छ। उनले प्रिमनसुनका गतिविधि भने कायम रहने बताउँदै आइतबार पनि आंशिक बदली र केही स्थानमा छिटफुट वर्षाको सम्भावना रहने जानकारी दिइन्। उनका अनुसार प्रिमनसुनको समयमा घाम लाग्ने, फेरि बदली हुने र हल्का वर्षा हुने क्रम भने केही दिन जारी रहनेछ।
हाल देशको पूर्वी क्षेत्रसहित अन्य केही स्थानमा हल्का वर्षा भइरहेको छ। यो प्रणाली क्रमशः कमजोर हुँदै जाने र मौसम खुल्दै जाने विभागले जनाएको छ। विभागका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा मापन भएको छ।
विभागको पछिल्लो २४ घण्टाको विवरणअनुसार पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा भएको छ। त्यस्तै रुपन्देहीमा ७५.२ मिलिमिटर, मोरङमा ६३.८ मिलिमिटर, धनकुटामा ६३.२ मिलिमिटर तथा कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा मापन भएको छ।
मौसमविद्हरूले प्रिमनसुन अवधिमा मौसम छिटो–छिटो परिवर्तन हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।