ईरानको भारतलाई शर्त – हर्मुजबाट जहाज हिड्ने बाटो चाहिन्छ भने जफत गरेका ट्याङ्कर फिर्ता गर

lawanyasandesh.com

साँखु,काठमाण्डौं।मध्यपूर्वमा जारी युद्ध र बढ्दो तनावका बीच ईरानले भारतसँग ठूलो सर्त राखेको छ। यदि भारतलाई स्ट्रेट अफ हर्मुजबाट आफ्ना जहाजहरूलाई सुरक्षित बाटो चाहिन्छ भने पहिले भारतले जफत गरेका तीनवटा ईरानी-लिंक ट्याङकर फिर्ता गर्नुपर्ने र केही आवश्यक औषधि तथा चिकित्सकीय उपकरण उपलब्ध गराउनुपर्ने बताएको छ।




रॉयटर्सको रिपोर्ट अनुसार, ईरानका नयाँ दिल्लीस्थित राजदूतले सोमबार भारतीय विदेश मन्त्रालयका अधिकारीहरूसँग यो विषयमा छलफल गरेका थिए। तीनवटा स्रोतले रॉयटर्सलाई बताएअनुसार, यो माग हर्मुजबाट भारतीय झण्डाका वा भारत-गन्तव्य जहाजहरूलाई सुरक्षित निकास दिने वार्ताको भाग हो।

भारतीय तटरक्षक बलले फेब्रुअरीमा Asphalt Star, Al Jafzia र Stellar Ruby नामका तीन ट्याङ्करलाई भारतीय क्षेत्र नजिकै जफत गरेको थियो। यी ट्याङ्करले पहिचान लुकाएको र समुद्री जहाजबाट अर्को जहाजमा अवैध तेल तथा बिटुमेन स्थानान्तरण गरेको आरोप भारतले लगाएको थियो। Stellar Ruby ईरानी झण्डाको थियो भने अन्य दुई Nicaragua र Mali झण्डाका थिए। यी ट्याङ्कर हाल मुम्बई नजिकै अड्किएका छन्।

हर्मुज जलडमरूमध्य विश्वको करिब २० प्रतिशत तेल व्यापारको महत्वपूर्ण मार्ग हो। यो मार्गबाट भारतको ४० प्रतिशतभन्दा बढी कच्चा तेल र ९० प्रतिशत LPG आयात हुन्छ। अमेरिका-इजरायल र ईरानबीचको द्वन्द्व बढेपछि यो क्षेत्रमा जहाज यातायात लगभग ठप्प भएको छ। भारतका कम्तीमा २२ वटा जहाज र ६११ जना नाविक अझै खाडी क्षेत्रमा फसेका छन्।

तर, केही राहत पनि देखिएको छ। भारतीय अधिकारीहरूका अनुसार ईरानले हालै दुईवटा भारतीय LPG ट्याङ्करलाई हर्मुज पार गर्न अनुमति दिएको छ। तीमध्ये एउटा Shivalik ट्याङ्कर मुन्द्रा पोर्टमा पुगिसकेको छ भने अर्को Jag Laadki क्रुड तेल बोकेर भारततर्फ आइरहेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जायसवालले भने, “हालका गतिविधिहरू हाम्रो लामो सहकार्य र सम्बन्धको इतिहास झल्काउँछन्। कुनै ‘एक्सचेन्ज’ भएको छैन।”

यो घटनाक्रमले भारतको ऊर्जा सुरक्षा र खाना पकाउने ग्यास आपूर्तिमा चुनौती थपेको छ। दुवै देशबीच वार्ता जारी छ र मामला case-by-case आधारमा हल हुँदै गएको बताइएको छ।

प्रतिक्रिया