साँखु,काठमाण्डौं।शंखरापुर नगरपालिका वडा नं. १ र २ को सङ्गमस्थल चौकी भञ्ज्याङ बजारमा नवनिर्मित प्रतिक्षालयको निर्माण कार्य सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका–७, मित्रपार्कस्थित टेक्सस इन्टरनेशनल कलेजको विशेष आर्थिक सहयोगमा उक्त प्रतिक्षालय निर्माण गरिएको हो।
आज बिहान एक कार्यक्रमका बीच चौकी भञ्ज्याङ टोल सुधार समितिले कलेजको उक्त परोपकारी कार्यको उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन गरेको छ। चिसो मौसम र भौगोलिक अवस्थितिका कारण यस भेगका स्थानीय बासिन्दा तथा आवतजावत गर्ने यात्रीहरूलाई ओत लाग्न र थकाइ मार्न सहज होस् भन्ने उद्देश्यले कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग पुर्याएको हो।
प्रतिक्षालय निर्माणले स्थानीय र यात्रीहरूलाई ठुलो राहत पुग्ने विश्वास लिइएको छ। कार्यक्रममा टोल सुधार समितिले कलेजको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान-पत्र समेत प्रदान गरेको छ। उक्त सम्मान-पत्रमा शंखरापुर-१ का वडा अध्यक्ष बेद नारायण दङ्गाल, पूर्व गाविस अध्यक्ष रत्न बहादुर लामा र टोल सुधार समितिका अध्यक्ष बिर बहादुर तामाङको हस्ताक्षर रहेको छ।
टोल सुधार समितिले आगामी दिनमा पनि यस्तै सहकार्य र सहयोगको अपेक्षा राख्दै कलेज परिवारप्रति आभार प्रकट गरेको छ।