साँखु, काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर २ मा आयोजित ‘बृहत महिला भेला’ उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ। कार्यक्रममा सहभागी आमा तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थितिले क्षेत्रीय राजनीतिमा नयाँ ऊर्जा थपिएको आयोजकहरूको दाबी छ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौँ–२ का प्रतिनिधिसभा उम्मेदवार कविर शर्मा ले महिलाको सम्मान र नेतृत्व बिना समृद्धि सम्भव नहुने धारणा व्यक्त गरे। उनले घर सम्हाल्ने आमा–दिदीबहिनीहरूमा देश हाँक्ने क्षमता र दूरदृष्टि रहेको उल्लेख गर्दै नीति निर्माण तहमा महिलाको निर्णायक भूमिका सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए।
उनका अनुसार काठमाडौँ–२ लाई नमुना क्षेत्रका रूपमा विकास गर्न महिला सशक्तीकरण, सुशासन र युवा सहभागितालाई प्राथमिकतामा राखिनेछ। कार्यक्रममा उपस्थित महिलाहरूले परिवर्तनको पक्षमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा सहित पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताको सक्रियता बढ्दै जाँदा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस प्रति जनविश्वास सुदृढ हुँदै गएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा शर्मा ले आफूलाई प्राप्त विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै “हामी सबै मिलेर काठमाडौँ–२ लाई विकास, पारदर्शिता र समान अवसरको केन्द्र बनाउनेछौँ” भन्ने प्रतिबद्धता दोहोर्याए।