शंखरापुर साँखुमा श्री शिरोमणी नेपालको जात्रा : श्री बज्रयोगिनी माता सहित गणहरू सकुशल मन्दिरमा बिराजमान

lawanyasandesh.com

साँखु, काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका–साँखुमा परम्परागत रूपमा मनाइने श्री शिरोमणी नेपालको श्री बज्रयोगिनी जात्रा धुमधामका साथ सम्पन्न भएको छ।


जात्राका क्रममा श्री बज्रयोगिनी मातासहित उहाँका गणहरूलाई विधिपूर्वक नगर परिक्रमा गराउँदै ८ रात ९ दिनसम्म सञ्चालन भएको जात्रा समयमै पूरा गरी भगवानहरूलाई बज्रयोगिनी मन्दिरमा सकुशल पुर्‍याइएको थियो।


आज बिहानै भगवानलाई हिजो खटमा राखी देवी सत्तल (द्योछें)बाट चलाखुसम्म ल्याइएको थियो। चलाखुबाट बिहान करिब ८ बजेतिर बज्रयोगिनी तर्फ जात्रा अघि बढाइएको थियो। करिब ९ बजेतिर कोलागालमा भगवानलाई झन्डै तीन घण्टासम्म तल–माथि, अघि–पछि गर्दै खट खेलाइएको दृश्य अत्यन्त मनमोहक देखिएको थियो। उक्त दृश्य अवलोकन गर्न हजारौँ भक्तजनको उपस्थिति रहेको थियो।


जात्राको समापन क्रममा गुर्जु पल्टनद्वारा विशेष सलामी अर्पण गरिएको थियो। सलामीसँगै उपस्थित भक्तजनहरूले पूजा–आराधना गर्दै जात्राको औपचारिक समापन गरेका थिए। परम्परागत बाजागाजा, भक्तजनको उल्लेख्य सहभागिता र धार्मिक उत्साहबीच साँखु क्षेत्र दिनभर जात्रामय बनेको थियो।


आजको दिनलाई थप विशेष र अद्भूत बनाउँदै कोलागालबाट दिउँसो करिब १ बजे घुमारिचोक तथा लप्से क्षेत्रका तामाङ समुदायका बौद्ध धर्मावलम्बीहरूले खट बोकेर धुमधामका साथ श्री बज्रयोगिनी माताको जात्रा मनाएका थिए। उनीहरूको सहभागिताले जात्रामा धार्मिक सद्भाव, सहअस्तित्व र सांस्कृतिक विविधता झल्किएको थियो।


जात्रा व्यवस्थापन समिति तथा सुरक्षाकर्मीहरूको समन्वयमा जात्रा व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। हजारौँ भक्तजनले दर्शन गर्दै आ–आफ्नो परम्पराअनुसार पूजा अर्चना गरेका थिए। साँखुको सांस्कृतिक पहिचानका रूपमा रहेको बज्रयोगिनी जात्रा श्रद्धा, परम्परा र सामूहिक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको स्थानीयले बताएका छन्।


प्रतिक्रिया