ओली–लेखक पक्राउबारे गृहमन्त्रीको प्रतिक्रिया “प्रतिशोध होइन, न्यायको सुरूआत”

lawanyasandesh.com

साँखु, काठमाडौं। गृहमन्त्री सुधन गुरूङ ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि यो कदम प्रतिशोध नभई न्याय प्रक्रियाको सुरूआत भएको बताएका छन्।



शनिबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री गुरूङले भने, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरूआत हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।”

भदौ २३ र २४ गते भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि प्रहरीले दुवै नेतालाई पक्राउ गरेको हो। उनीहरूलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइँदै गरिएको परिसर प्रमुख एसएसपी रमेश थापा ले जानकारी दिए।
पक्राउ प्रक्रिया अघि बढेपछि ओली निवास क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। सो क्रममा अध्यक्ष ओलीले वरिष्ठ अधिवक्ता रमेश बडाल र टिकाराम भट्टराईलाई निवासमै बोलाएका थिए। एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री ले प्रहरी आवश्यक पुर्जीसहित एकाबिहानै पुगेको बताइन्।
प्रहरी टोली निवासभित्र प्रवेश गर्ने क्रममा एमाले नेता–कार्यकर्ताले अवरोध गरेका थिए। केहीबेर धकेलाधकेल भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको कार्यकर्ताहरूको दाबी छ।

यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३–२४ का घटनासम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। निर्णयपछि गृहमन्त्री गुरूङले सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल गर्दै आवश्यक तयारी अघि बढाएका थिए।
सरकारले यस कदमलाई कानुनी प्रक्रिया अनुसारको कारबाही भन्दै निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएको छ भने विपक्षी दलहरूले घटनालाई राजनीतिक रूपमा व्याख्या गर्न थालेका छन्। यस घटनाले राष्ट्रिय राजनीतिमा नयाँ बहस र तरंग सिर्जना गरेको छ। 

प्रतिक्रिया